राप्ती प्रादेशिक अस्पताल लुम्बिनी प्रदेशको दाङ जिल्ला, तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ नामिनगरमा अवस्थित एक प्रमुख प्रेषण (Referral) अस्पताल हो। साविक राप्ती क्षेत्रका रोल्पा, रुकुम, सल्यान, प्यूठान र दाङको केन्द्र भागमा रहेको यस अस्पतालको विकासक्रम गौरवपूर्ण रहेको छ।

ऐतिहासिक विकासक्रम (विगतदेखि वर्तमान):

  • वि.सं. २०६४ असार ७: जनताको व्यापक संघर्ष र सर्वदलीय पहल स्वरूप प्राथमिक स्वास्थ्य केन्द्रको रूपमा स्थापना।
  • अञ्चल अस्पतालमा स्तरोन्नति: सेवाको माग बढ्दै जाँदा यसलाई ५० शय्याको साविक राप्ती अञ्चल अस्पतालमा रूपान्तरण गरियो।
  • प्रादेशिक अस्पताल र शय्या वृद्धि: हाल यो अस्पताल लुम्बिनी प्रदेश सरकार मातहत २०० शय्यामा स्तरोन्नति भई सञ्चालनमा रहेको छ। अस्पतालको यो उचाइसम्मको यात्रामा अस्पताल विकास समितिका तत्कालीन अध्यक्ष टिकाराम रेग्मी, महादेब शाह, दुर्गादत्त शर्मा, रुद्रमणि शर्मा, विष्णु कुमार देवकोटा तथा प्रादेशिक अस्पतालको रूपमा विकास भए पश्चात् पद्म प्रसाद न्यौपाने लगायतको नेतृत्वदायी भूमिका अविस्मरणीय रहेको छ।
  • चिकित्सकीय नेतृत्व: अस्पताललाई गुणात्मक सेवा दिन सुरुवाती दिनमा डा. केदार सेन्चुरी, तत्पश्चात डा. दिपक थापा, डा. भोलाराम श्रेष्ठ, डा. पदमराज अधिकारी, डा. सर्वेश शर्मा, डा. प्रताप पोख्रेल र डा. विनोद सिंहले मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को रूपमा महत्त्वपूर्ण प्राविधिक नेतृत्व प्रदान गर्नुभएको छ।

वर्तमान सेवाहरू:
हाल यस अस्पतालमा जनरल मेडिसिन, सर्जरी, अर्थो सर्जरी, बालरोग, स्त्री तथा प्रसूति रोग, नाक कान घाँटी, छाला तथा यौन रोग, दन्तरोग, एनेस्थेसिया, र रेडियोलोजी (भिडियो एक्स-रे, एक्स-रे, सीटी स्क्यान) सेवा उपलब्ध छन्। साथै, मानसिक रोग (साइक्याट्रिक), इको, इसिजी, प्रयोगशाला परीक्षण, थाइराइड परीक्षण, डायलाइसिस, र सामाजिक सेवा एकाई (SSU) मार्फत गरिब तथा असहायलाई निःशुल्क उपचार सेवा प्रवाह भइरहेको छ। कोरोना महामारीको समयमा यस अस्पतालले बेलझुण्डीमा विशेष कोरोना अस्पताल सञ्चालन गरी संकट व्यवस्थापनमा अग्रणी भूमिका निर्वाह गरेको थियो।