प्रदेश सरकार
लुम्बिनी प्रदेश
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय
राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर दाङ
English
नेपाली

परिचय

 अस्पत्तालको विगत र बर्तमान


दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका वडा नं.५ तुलसीपुर नामिनगरमा अवस्थित यो राप्ती प्रादेशिक अस्पताल  वि.सं. २०६४ असार ७ गते पूर्व प्राथमिक स्वस्थ्य केन्द्रको रुपमा तुलसीपुरका बासिन्दाहरुलाई पुर्याएको स्वास्थ्य सेवा सामान्य र अपर्याप्त हुंदा उक्त समयमा अन्य अञ्चलहरुमा अस्पताल  भैसक्दा पनि राप्ती अञ्चलमा एउटा अस्पताल  नहुनु विडम्बनाको कुरा थियो । जिल्लामा जिल्ला अस्पत्तालको रुपमा जिल्ला सदरमुकाम घोराहीमा महेन्द्र अस्पताल मात्र भएको तर जनताको आधारभूत स्वास्थ्य सम्बन्धी आवस्यकता उक्त अस्पताल बाट मात्र पूरा हुन नसकेको अवस्थामा तत्कालीन राप्ती अञ्चलको सदरमुकाम तुलसीपुर जुन राप्तीका रोल्पा,रुकुम,सप्यान,प्यूठान र दाङको समेत केन्द्र रहेको र राप्ती बासीहरुलाई स्वस्थ्य सेवा उपलब्ध गराउनु पर्ने महशुस गरी राप्ती अञ्चलको तुलसीपुरमा अस्पत्ताल स्थापना गर्नु पर्छ भन्ने मनसायका साथ तुलसीपुरका उद्योगी,ब्यवसायी,समाजसेवी,राजनितिकर्मी लगायत लब्धप्रतिष्ठित ब्यक्तिहरुको उपस्थितिमा मिति २०६३ असोज २६ गते सर्वदलीय सर्वपक्षीय उपस्थितिमा प्रेस सम्मेलन उ.वा.संघ तुलसीपुमा सम्पन्न भयो । उक्त सम्मेलनमा सबै अञ्चल बासीहरु आफ्नो हक अधिकारको लागि जुर्मुराएको र संघर्ष समितिको हरेक कदममा साथ दिने बचन वद्धता ब्यक्त गरेका थिए । तत्पश्चात मिति २०६३ असोज २७ मा अञ्चल अस्पताल स्थापनार्थ जिल्ला प्रशासन कार्यालय मार्फत सम्माननीय प्रधानमन्त्रीज्यूलाई ज्ञापन पत्र बुझाइएको थियो । यसैगरी अस्पताल का  लागि पूर्वाधार विकासको समेत आबश्यकता ठानी आवश्यक रकमको ब्यवस्था गर्न मिति २०६३ फागुन १५ गते तुलसीपुरमा वृहत् भेलाको आयोजना गरियो सो भेलाबाट प्रतिष्ठित ब्यापारी उत्तमकुमार श्रेष्ठको अध्यक्ष्यतामा १००८ सदस्य रहेको मूल आयोजक समिति गठन गरी फागुन १६ मा बिभिन्न उपसमितिहरु बनाई मूल आयोजक समितिको निर्णय अनुसार २०६३ फागुन २६ गतेदेखि हर्षोल्लासका साथ महापुराण वाचिका विदुषी सुश्री तारा घिमिरेज्यूबाट अस्पत्ताल स्थापना र निर्माणार्थ महापुराण संचालन गरियो जस्मा महापुराण बाचन कलाबाट प्रभावित भै अस्पत्ताल स्थापनार्थ कैयौं दानवीरज्यूहरुले करिव नगद १ करोड १७ लाख २८ हजार र भूमि दान गर्नुभएको थियो । भूमि करिव ६० लाख बराबरको नगदमा गरिणत गरिएको थियो । तत्पश्चात् अञ्चल अस्पत्ताल राप्ती अञ्चलको सदरमुकाम तुलसीपुरमा नै हुनुपर्छ भनने भनाइका साथ मिति २०६४ जेठ २९ गते उ.वा.संघ तुलसीपुरमा संघर्ष समितिको वैठक बसी संघर्षका कार्यक्रमहरु अघि सारिए । उक्त संघर्षका कार्यक्रमका बावजुद नेपाल सरकारले मिति २०६४ असार ७ गतेका दिन राप्ती,कर्णाली र धवलागिरी अञ्चलमा अस्पत्ताल स्थापना गर्ने नीति बनाउदा अञ्चल बासीहरुमा उत्साह छाएको थियो । अतः मिति २०६४ असार ७ गतेबाट प्राथमिक स्वास्थ्य केन्द्र राप्ती अञ्चल अस्पत्तालको रुपमा परिणत भएको थियो । सोही अवसरमा नै उक्त निर्णयका आधारमा दाङको तुलसीपुर वडा नं. ५ नामिनगर स्थित तत्कालीन राप्ती अञ्चलाधीश कार्यालयको नाममा रहेको विभिन्न कित्ताको ६ विगाहा १९ कठ्ठा जग्गा मालपोत कार्यालयले राप्ती अञ्चल अस्पत्तालका नाममा पास गरिदियो जसले गर्दा अस्पत्ताल स्थापना गर्न सहजता भएको थियो । राप्ती अञ्चल अस्पत्ताल स्थापनाको निर्णय संगै मिति २०६५ पुस २१ गते तुलसीपुरमा राप्ती अञ्चल अस्पत्ताल सेवा संचालनको उद्घाटन र सोही दिनमा नै करिव ५ करोडको लागतमा अस्पत्ताल निर्माणका लागि अस्पत्ताल भवनको शिलान्यास तत्कालीन सुचना तथा सञ्चार मन्त्री कृष्ण बहादुर महराले गर्नुभएको थियो । मिति २०६५ फागुन ९ गते मे.सु.को जिम्मेवारीका साथ डा.केदार सेञ्चुरी हाजिर भएपछि यस अस्पताल विशेषज्ञ सेवा प्रारम्भ भएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र रहेको घरमा अञ्चल अस्पत्ताल संचालन गर्न नसकिने र अस्पत्ताल भवन निर्माण गरी हस्तान्तरण गर्न समय लाग्ने भएकाले हालको भवनमा अस्पत्ताल संचालन नहुंदासम्म तुलसीपुर सरोकार मञ्चका अध्यक्ष शंकरप्रसाद आचार्यलाई अनुरोध गरी वहाँको तुलसीपुर ख लाइन स्थित भवन भाडामा लिएर मिति २०६६ श्रावण १ गतेदेखि उक्त भवनमा अस्पत्तालको सेवा संचालन भएको थियो ।  हालको भवनमा ५० शैयाको अस्पत्तालको सेवा प्रारम्भ भएको थियो ।


  यस् राप्ती बासीहरुको स्वास्थ्य सेवाको माग एवं आवश्यकता दिनानुदिन बढ्दैगएको हुंदा र अस्पत्तालको न्यूयतम् सेवा स्तर (मानक) को समेत आधारमा ओ अस्पत्ताल प््राथमिक स्वास्थ्य केन्द्र बाट अञ्चल अस्पत्ताल र अञ्चल अस्पत्तालबाट राप्ती प्रादेशिक अस्पत्तालको नाममा स्तरोन्नति भएको र ५० शैयाबाट २०० शैयामा समेत स्तरोन्नति भएको अवस्था छ । तर प्रारम्भमा भएकै जनशक्तिले अस्पत्ताल सञ्चालन गरिरहेको कारण अस्पत्तालमा अपेक्षा गरे अनुरुप गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न समस्या उत्पन्न भैराखेको छ । अस्पत्तालको विकास गरी राप्ती अञ्चल बासीहरुलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन अञ्चल अस्पत्तालको स्थापना कालमा संघर्ष समितिबाट अस्पत्ताल विकास समितिको अध्यक्ष टिकाराम रेग्मीज्यूले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो भने तत्पश्चात महादेव शाह, दुर्गादत्त शर्मा, रुद्रमणि शर्मा, विष्णु कुमार देवकोटा र प्रादेशिक अस्पत्तालको रुपमा विकास भए पश्चात् पद्म प्रसाद न्यौपानेले आ आफ्नो समिति मार्फत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । त्यसै गरी चिकित्सक,स्वास्थ्यकर्मी कर्मचारीहरुको नेतृत्व गर्दै प्ररम्भमा डा.केदार सेञ्चुरी तत्पश्चात् डा.दिपक थापा, डा.भोलाराम श्रेष्ठ, डा.पदमराज अधिकारी, डा.सर्वेश शर्मा, डा.प्रताप पोख्रेल र डा. विनोद सिंहले मे.सु.को रुपमा आ आफ्नो ठाउँबाट स्वास्थ्योपचार सेवा र कर्मचारी परिचालन लगायतका काममा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । अञ्चल बासीहरुको माग,विरामीहरुको चाप वृद्धिका साथै विशिष्ट स्वास्थ्य सेवाको आवश्यकताको महशुस हुंदैजाँदा अस्पत्ताल व्वस्थापन समिति र अस्पत्ताल प्रशासनको पहलकदमीले गर्दा क्रमिक रुपमा अस्पत्तालका विभिन्न सेवाहरु थप हुंदैगएको अवस्था छ । हाल यस् अस्पत्तालमा मेडिसिन, सर्जरी, अर्थो सर्जरी, बालरोग, स्त्री तथा प्रसुती रोग, नाक कान घाँटी, छाला तथा यौन रोग, दन्त रोग, एनेस्थेसिया, रेडियोलोजी, आकस्मिक सेवा, अन्तरंग र वहिरंगका सेवाहरु, साइक्याट्र्कि लगायतका सेवाहरुका साथै, सिटिस्क्यनिङ, भिडियो एक्सरे, एक्सरे, इको, इसिजि, प्रयोगशालाबाट परक्षिणमा गरिने विभिन्न सेवाहरुका साथै, थाइराइड परिक्षण हुनका साथै जनस्वास्थ्यका कार्यक्रम बाट गरिने विभिन्न सेवाहरु प्रदान भैराखेको छ । किड्नीका विरामीहरुका लागि डाइलाइसिस सेवा प्रवाह भैराखेको छ भने कोरोनाका विरामीहरुका लागि अस्पत्तालकै मातहतमा कोरोना विशेष अस्पत्ताल वेलझुण्डीमा संचालन गरियो जसको व्यवस्थापनमा द्रोण वलीले महत्वपूर्ण भूमिका निर्वाह गरी सहयोग पुर्याउनु भएको थियो । हाल उक्त अस्पत्ताल यस् राप्ती प्रादेशिक अस्पत्तालको एउटा इकाईको रुपमा रहेको छ । अस्पत्ताल संचालनका लागि प्रशासन,आर्थिक प्रशासन,विलिङ काउन्टर,योजना तथा अनुगमन, स्टोर लगायतका प्रशासनिक र अस्पत्ताल व्यवस्थापकको समेत व्यवस्था भएको र इलेक्ट्र्सिियन, पलम्बरको कार्य गर्न दैनिक ज्यालादारी मा काम भैराखेको छ । यसै गरी सामाजिक सेवा मार्फत गरिव तथा विपन्न,असहाय,अपाङ्ग लगायतका अशक्त हरुका लागि उपचार सेवा निशुल्क हुंदै आएको छ । 


  यो अस्पताल मा बिरामीहरुको चाप दिनानुदिन बढ्दै गएको र सेवा क्षेत्र पनि ब्यपक भएकाले दीर्घकालीन सोंचका साथ लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलको अस्पत्तालको शैया वृद्धि र सेवा विस्तार गर्नुपर्ने आवश्यक ठानेर यस् अस्पत्राललाई ६०० शैयाको अस्पत्तालको रुपमा विकास गर्नु पर्ने आवश्यकता महशुस गरी मन्त्री परिषद्को निर्णय गराएर गुरु योजना तयार गर्ने जिम्मेवारी प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई दिनु भयो र उक्त गुरु योजना तयार भै,हालको सरकारले डि.पि.आर.तयार पार्ने काम प्रक्रियामा अगाडि बढेको छ ।


अस्पत्तालको सेवा क्रमिक रुपले विस्तार भैरहेको र गुणस्तरीय, सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि हालको दरबन्दीको जनशक्ति अपर्याप्त भै समय समयमा विभिन्न समस्याहरु उत्पन्न हुने गर्दछन् । हाल ५० शैयाको जनशक्ति मात्र भएको र उक्त जनशक्तिले नभ्याउने भएकाले समितिले मासिक र दैनिक ज्यालादारीमा केही कर्मचारी हरुको व्यवस्था गरी अस्पत्ताल संचालन भएकोछ । अस्पत्रालको आन्तरिक स्रोतले थप कर्मचारी राख्नसक्ने अवस्था पनि छैन । अस्पत्तालमा हाल टोकन बाट नाम दर्ता गर्ने कामको थालनी गरिएको छ भने अस्पत्तालका सबै कामहरु अनलाइन सिस्टममा राख्ने व्यवस्था गर्नु पर्ने देखिन्छ ।


 प्रक्रियामा रहेको र आगामि दिनमा गर्नुपर्ने कार्यहरुमा सबैभन्दा पहिले २०० शैयाको लागि इ७ः सर्भेको काम सम्पन्न गरी दरबन्दी सिर्जना गर्नुपर्ने हुन्छ । यसका लागि लुम्बिनी प्रदेश सरकार समक्ष पुगी अनुरोध र पहल गर्नुपर्दछ । त्यसै गरी ६०० शैयाको लागि डि.पि.आर.को काम सम्पन्न गरी टेण्डरमा लैजानु पर्ने हुन्छ । त्यसै गरी चौधरी  समुदायमा हुने सिकल्सन रोगको उपचार व्यवस्था,अस्पत्तालको स्वामित्वमा रहेको जग्गाको सदुपयोग र अतिक्रमित जग्गा छुट्याउने, अस्पत्तालका पुराना सामग्रीहरुको उचित व्यवस्थापन, अस्पत्तालको फोहरमैलाको उचित व्यवस्थापन, एम्बुलेन्स र शव वाहनको व्यवस्था, परिक्षण कार्यलाई गुणस्तरीय, भरपर्दो, विश्वसनीय बनाउनु पर्ने र अस्पत्ताललाई मैत्रीपूर्ण गुणस्तरीय सेवा प्रवाहका लागि भूमिका खेल्नु पर्ने आवश्यकता रहेको छ । त्यसै गरी अस्पत्ताल परिशरमा पर्खाल लगाउनु पर्ने र सो काम भैरहेको अवस्था छ । अतः यो राप्ती प्रादेशिक अस्पत्ताललाई क्रमिक रुपमा सुधार र स्तरोन्नति गर्दै गुणस्तरीय र मैत्रीपूर्ण स्वास्थ्य सेवा प्रवाह गरी राप्ती वासीहरुलाई सर्वबुलभ स्वास्थ्य सेवा प्रदान गर्न अस्पत्ताल विकास समिति र अस्पत्ताल प्रशासन लागेकोमा यहाँहरु सबैको सहयोग,सुझाव र आवश्यक मार्गदर्शन  प्रदान गर्नुहुन समेत अपेक्षा गरिन्छ ।